चितवनमा सहायक सामाग्री प्रयोगकर्ताहरुको अवस्था र स्थानिय तहको दायित्व बिषयक अन्तरक्रिया

catavanama-sahayaka-samagara-parayagakarataharaka-avasatha-ra-sathanaya-tahaka-thayatava-bshhayaka-anatarakaraya

चितवनमा सहायक सामाग्री प्रयोगकर्ताहरुको अवस्था र स्थानिय तहको दायित्व बिषयक अन्तरक्रिया

८ चैत । राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी परियोजनाको आयोजनामा चितवन जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्बी संघसंस्थाहरु, सहयोगी समूह र सहायक सामाग्री प्रयोगकर्ताहरुकोबिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रियामा  चितवन जिल्लामा सहायक सामाग्री प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र सो को लागी स्थानिय तहको दायित्व एवं राष्ट्रिय अपाङ्ग कोषले सहायक सामाग्री पहुँच पुर्याउन गरेका कार्यहरुको बारेमा छलफल भएको हो ।


छलफलमा आफ्नो बिचार व्यक्त गर्दै अपाङ्ग समाज चितवनका अध्यक्ष बालकृष्ण श्रेष्ठले  चितवन जिल्लामा सहायक सामाग्री प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अत्यन्तै जटिल रहेको बताउनुभयो । उहाँले ह्विलचियर प्रयोगकर्ता र कृतृम सहायक सामाग्री प्रयोगकर्ताहरुले अन्य अपाङ्गता भएका व्यक्तिहरुको तुलनामा सामाजिक सहभागीता र अवसरमा पहुँच नभएकोले आगामी दिनमा सहायक सामाग्री आवश्यक व्यक्तिलाई सामाग्रीमा सहज पहुँच तथा अवसरहरुको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा चितवन नेत्रहिन संघका अध्यक्ष संजय अर्यालले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागी सेतो छडि र ब्रेल आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सहायक सामाग्रीको अभावमा दृष्टिसँग सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुले अवसरमा पहुँच स्थापित गर्न नसकेको बताउनुहुँदै सेतो छडि र ब्रेलको सरल पहुँचका लागी राष्ट्रिय अपाङ्ग कोषले मन्त्रालयसँग पहल गर्नुपर्ने बताउनुभयो ।


यसैबिच सबै अपाङ्गता भएका व्यक्तिहरुमध्ये बहिरा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा संचारमा पहुँच बनाउन नसकेको र सोहि कारण उनिहरु पछाडि परेको बताउनुहुँदै हियरिङ एड अर्थात श्रवण यन्त्र आवश्यक अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त यन्त्र सुलभ रुपमा उपलब्ध हुने वातावरण मिलाइदिन अनुरोध गर्नुभयो ।

यस्तै भरतपुर महानगर अपाङ्गता परिचयपत्र सिफारिस समितिका सदस्य यम प्रसाद सुवेदीले भरतपुर महानगर र यहाँको मेयर रेणु दाहाल चितवनमा रहेका समग्र अपाङ्गता भएका व्यक्तिहरुको हकहित, अधिकार र सहायक सामाग्रीको सेवा प्रदान गर्न तथा अपाङ्गताको सवालहरुलाई सम्बोधन गर्न सकारात्मक रहेको बताउनुहुँदै चितवनमा सहायक सामाग्रीको सहज उपलब्धताको लागी आफुले आवश्यक पहल गर्ने बताउनुभयो ।

अन्तरक्रियाकै क्रममा राष्ट्रिय अपाङ्ग महासंघका संघीय सदस्य तथा बौद्धिक अपाङ्गताको अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठले राष्ट्रिय अपाङ्ग महासंघले चितवनका सबै अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुसँग सहकार्य गर्दै अपाङ्गता आन्दोलनलाई अगाडि बढाइरहेको बताउनुभयो । उहाँले प्रस्तुत सन्दर्भमा चितवनमा रहनुभएका समग्र अपाङ्गता भएका व्यक्तिहरुको अवस्थासँग तुलना गर्दा सन्तोषजनक रहेको तथा यहाँको स्थानिय निकायले पनि अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय तथा समग्र मुद्धाहरु बुझेतापनि चितवनलाई सहायक सामाग्रीको उत्पादनशाला तथा वितरणको हब बनाउन सके आगामी दिनमा सहायक सामाग्री उत्पादन तथा बितरण कार्यको बिकेन्द्रिकरण हुने बताउनुभयो । यसै सन्दर्भमा उहाँले चितवन जिल्ला मध्ये क्षेत्रमा रहेको र मेडिकल सिटि समेत रहेकोले यहाँ काठमाण्डौँ पछिको दोस्रो सहायक सामाग्रीको खपत हुने बताउँदै चितवनमा कार्यशाला खोल्नका लागी पहल लिन कोषका सभापति तथा जिल्लाका स्वावलम्बी संस्थाहरुलाई आग्रह गर्नुभयो ।

अन्तरक्रियामा उठेका सवालहरुलाई सम्बोधन गर्ने क्रममा कोषका सदस्य द्वय रमेश पोख्रेल र बिकास धितालले कोषले सेवा बिकेन्द्रिकरणका लागी प्रयासरत रहेको बताउनुभयो । उहाँहरुले सहायक सामाग्री निर्माण तथा उत्पादनमा चितवन जिल्ला भविष्यको हब बन्नसक्ने बिचारको सम्मान गर्दै अन्तरक्रियामा सहभागीहरुले उठाएका बिषयहरुलाई सम्बन्धीत निकायहरुमा पुर्याई परिणाम देखाउनका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग कोषका सभापती रमेश लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका सदस्यहरु रमेश पोखरेल, विकास धिताल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य एवं बौद्धिक अपाङ्गताको अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ, अपाङ्ग समाज चितवनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, भरतपुर महानगर अपाङ्गता परिचयपत्र सिफारिस समितीका सदस्य यम प्रसाद सुवेदी,  चितवन नेत्रहिन संघका अध्यक्ष सञ्जयअर्याल,  सुषुम्ना नाडि घात मैत्रीय समाजका सदस्य समिर कुमार ठकुरी, चितवन अर्थो सहयोगी सामाग्री सेन्टरका प्रोपाइटर विष्णु अर्याल,  साङ्केतिक भाषा दोभाषे तथा चितवन बहिरा संघको प्रतिनिधी सिता सापकोटा लगायतको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo