निःशुल्क सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न

nashalka-sahayaka-samagara-vataranae-karayakarama-samapanana

निःशुल्क सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न

१८ माघ २०७८ । बागमती प्रदेशको चितवन जिल्ला भरतपुर महानगरपालिकामा निःशुल्क सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको परिसरमा अपाङ्ग समाज चितवनले संयोजन गरि कोषद्वारा निःशुल्क सहायक सामाग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा कोषद्वारा उपलब्ध गराइएको ५ वटा ह्विलचियर, ५ जोर बैशाखी र ५ वटा वाकर गरि कुल १५ जनालाई सहायक सामाग्री वितरण गरिएको थियो ।

भरतपुर महानगरको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख  शान्ता कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरको उपमेयर पार्वती शाह ठकुरी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठकुरीले भरतपुर महानगरपालिका महानगरवासी अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना सेवाको विभिन्न आयामहरुलाई सम्बोधन गर्नका लागि विभिन्न निकायहरुसँग साझेदारी र सहकार्य गर्दै काम गरिरहेको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि यस प्रकारका कार्यहरुलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले सहायक सामाग्री प्रयोगकर्ताहरुको लागि सहायक सामाग्री अत्यन्तै महत्वपूर्ण भएको बताउनुहुँदै यसको प्रयोगले लाभाग्राहीको सामाजिक सहभागिता र गतिशिलतामा वृद्धि हुने बताउनुहुँदै निःशुल्क सहायक सामाग्री उपलब्ध गराएकोमा समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषलाई हार्दिक धन्यवाद् तथा आभार व्यक्त गर्नुभयो । यस्तै उहाँले यस कार्यक्रम आयोजना गर्नका लागि अपाङ्ग समाज चितवनले संयोजनका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरुको लागि कोषको सेवाहरुद्वारा चितवनमै सम्बोधन गर्न र उपलब्ध गराउने वातावरण सृजना गरेकोमा स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेललाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संयोजन संस्था अपाङ्ग समाज चितवनका प्रतिनिधी यम प्रसाद सुवेदीले चितवन जिल्ला र भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामाग्री, सीपमुलक तालिम र पुनर्स्थापना सेवाको वितरणका लागि अपाङ्ग समाजले विगतदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरि काम गरिरहेको बताउनुहुँदै राष्ट्रिय अपाङ्ग कोषले सन् २०११ र सन् २०१७ मा सहायक सामाग्री नापजाँच तथा वितरण शिविर मार्फत धेरै अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गरेको जानकारी दिँदै निःशुल्क सहायक सामाग्रीको लागि कोषलाई धन्यवाद् व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा अतिथिका रुपमा रहनुभएका चितवन अर्थो सहयोगी सामाग्री सेन्टरका प्रोप्राइटर तथा प्रोस्थेटिक अर्थोटिक प्राविधिक बिष्णु अर्यालले सहायक सामाग्रीको प्रयोग र हिफाजत कसरी गर्ने भनेर लाभाग्राहीलाई जानकारी दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएको भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको प्रमुख शान्ता पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकताको सम्बोधन गर्न सरकारको तवरबाट अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै कोषले गरेको सहायक सामाग्रीको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका महिला बालबालिका शाखाको शाखा अधिकृत एवं अपाङ्गता फाँट हेर्ने प्रमुख कलावती ओझाले सहजिकरण गर्नुभएको कार्यक्रममा सोही शाखाको सहायक महिला बिकास निरिक्षकहरु क्रमशः निमा खड्का, शोभा ढकाल, पञ्जिकरण शाखाका सुकदेव ढकाल, तुल्सी श्रेष्ठ लगायत अपाङ्गता भएका व्यक्तिहरु र उहाँहरुको उपस्थिति रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo