राष्ट्रिय अपाङ्ग कोषको सभापतिमा डेकराज भट्टराई र सदस्य सचिवमा अनिता घिमिरे गैरे मनोनित

राष्ट्रिय अपाङ्ग कोषको सभापतिमा डेकराज भट्टराई र सदस्य सचिवमा अनिता घिमिरे गैरे मनोनित
२९ फागुन २०७८ । समाज कल्याण परिषद्, कार्य सञ्चालन समितिको गत मिति २०७८ फाल्गुन २६ गतेको निर्णय अनुसार कोषमा नयाँ सभापति र सदस्य सचिव मनोनयन गरिएको छ । उक्त निर्णय अनुसार कोषको सभापतिमा डेकराज भट्टराई र सदस्य सचिव पदमा अनिता घिमिरे गैरे मनोनित हुनुभएको हो ।
नवनियुक्त सभापति र सदस्य सचिवले कोषमा आज मिति २०७८ फागुन २९ गते एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको छ । कार्यक्रममा कोषको प्रबन्ध समिति सदस्य टेक बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश सदस्य रविन्द्र पन्त तथा नेपाल बोसिया संघको सचिव विनु लामाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोष कर्मचारी कमिटीका अध्यक्ष भरत बहादुर कार्कीले कोषले हाल भोगिरहेको समस्या र सो को सामाधानका लागि नवनियुक्त पदाधिकारीलाई तत्काल गर्नुपर्ने कार्यहरु समेटी ज्ञापन पत्र बुझाउनुभएको थियो ।
यसैबिच आफ्नो पदभार ग्रहण गर्दै राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव अनिता घिमिरे गैरेले कोषको विद्यमान समस्याहरुलाई सबैजनाको साथ लिएर समाधान गर्ने र कोषको सेवालाई सात वटै प्रदेशमा बिस्तार गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
यस्तै नवनियुक्त सभापति डेकराज भट्टराईले पदभार ग्रहण गर्नुहुँदै राष्ट्रिय अपाङ्ग कोषलाई राष्ट्रिय स्तरको पुनर्स्थापना केन्द्रको रुपमा बिकास गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले अपनत्व ग्रहण गर्न सक्ने बनाउनका लागि आवश्यक कार्यवाहीहरु गरिने बताउनुभयो ।
कोषको प्रशासन अधिकृत सुनिता पौडेलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कर्मचारीहरु सहित झण्डै ३ दर्जनको सहभागिता रहेको थियो ।
OUR PARTNERS



